भारतबाट नेपाल आइरहेका अटो चालक निस्किए तस्कर, सशस्त्रलाई चक्मा दिने योजना चकनाचुर

रौतहट, नेपाल — रौतहटको गौर भन्सार क्षेत्रमा लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल र नेपाल प्रहरी को संयुक्त टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा लागूऔषधसहित ती युवकलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा २० वर्षीय अटो चालक मोहन पण्डित रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००३ ह १११० नम्बरको अटो शंकास्पद देखिएपछि सुरक्षाकर्मीले गौर भन्सार क्षेत्रमा रोकेर जाँच गरेका थिए।जाँचका क्रममा अटोभित्र लुकाइछिपाइ राखिएको अवस्थामा डाइजेपाम १०० पिस, प्रोमेथाजिन १०० पिस, बुप्रेनोर्फिन १०० पिस इन्जेक्सन तथा करिब ५ ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार ती लागूऔषधहरू भारतबाट नेपाल भित्र्याउने उद्देश्यले ल्याइएको खुलेको छ।सुरक्षाकर्मीलाई छल्नका लागि चालकले अटोमा विशेष तरिकाले लागूऔषध लुकाएको पाइएको छ। तर, संयुक्त टोलीको सतर्कताका कारण उनको योजना असफल भएको प्रहरीले जनाएको छ।हाल पण्डितलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ। घटनाबारे विस्तृत जानकारी संकलन गर्दै प्रहरीले यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।प्रहरीका अनुसार पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसारका घटनाहरू बढ्दै गएका छन्। यसलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूले निगरानी र चेकजाँचलाई अझ कडा बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *